काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ को कार्यालयमा लगाइएको ताला खोलिएको छ। संघको ढोकामा लगाइएको ताला व्यक्तिगत निवास नभएको भन्दै कार्यसमितिको बहुमत उपस्थितिमा तोडिएको हो।
संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखाली ले सबै व्यवसायी आबद्ध संस्था कुनै एक व्यक्तिको नभई सबैको साझा छाता भएकाले ताला लगाउनु न्ययचित नभएको बताए। उनले कार्यसमितिको बहुमत उपस्थितिमा ताला खोलिएको जानकारी दिए।
संघका अध्यक्ष भुवनसिंह गुरुङ ले संस्थामा ताला लगाउने कार्य स्वीकार्य नभएको प्रतिक्रिया दिएका छन्। व्यवसायीहरूको पक्षमा अभिभावकीय भूमिका निर्वाह गर्दै जिम्मेवार ढंगले अघि बढ्ने उनको भनाइ छ। बाँकी कार्यकाल सहकार्य र सहमतिमै पूरा गर्ने उनले बताए।
अध्यक्ष गुरुङ र महासचिव महेशकुमार बस्नेत बीचको विवाद समाधान हुन नसक्दा गत सोमबार पाँच पदाधिकारीसहित ११ जनाले वर्तमान कार्यसमितिबाट सामूहिक राजीनामा दिएका थिए।



























