काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड पुरस्कार प्राप्त गरेको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको मूल्याङ्कनका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरेको हो।
काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा पुरस्कार ग्रहण गरे।
आईक्यानका अनुसार वित्तीय प्रतिवेदनको गुणस्तरीय प्रस्तुति, वित्तीय पारदर्शिता, आवश्यक खुलासा, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य लेखा मापदण्डको पालना र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताका आधारमा नेपाल लाइफलाई स्वर्ण पुरस्कार प्रदान गरिएको हो।
पुरस्कार ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले उक्त सम्मानले कम्पनीको वित्तीय पारदर्शिता र सुशासनप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले कम्पनीको सफलतामा योगदान पुर्याउने सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरे।
कम्पनीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी भएका छन्। कम्पनीले हाल २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको जनाएको छ। साथै, हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको कम्पनीको दाबी छ।
नेपाल लाइफले हालसम्म नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाएको जनाएको छ। कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनी बनेको पनि उल्लेख गरेको छ।
हाल कम्पनीका ७७ वटै जिल्लामा केन्द्रीय, प्रादेशिक, शाखा तथा उपशाखासहित १९७ कार्यालय सञ्चालनमा छन्। देशभर ६५ हजारभन्दा बढी सक्रिय अभिकर्तामार्फत कम्पनीले जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ।
कम्पनीले वित्तीय पारदर्शिता, संस्थागत सुशासन र ग्राहककेन्द्रित सेवालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि नेपाली नागरिकको आर्थिक सुरक्षा तथा दीर्घकालीन वित्तीय संरक्षणमा केन्द्रित रहने प्रतिबद्धता जनाएको छ।



























