काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसामार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः औपचारिक रूपमा खुला भएको छ। उच्च अदालत पाटनको अन्तरिम आदेश पछि युवा, श्रम तथा रोजगार मन्त्रालयले यसअघि रोकिएको प्रक्रिया पुनः सञ्चालनमा ल्याएको हो।
मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाले २०८३ असार १६ गते परराष्ट्र मन्त्रालयलाई आधिकारिक पत्र पठाउँदै ई–७ भिसामा दक्षिण कोरिया जाने नेपाली सिपयुक्त श्रमिकका कागजात प्रमाणीकरण तथा आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको छ।
महाशाखाले पठाएको पत्रमा मन्त्रालयको असार १५ गतेको निर्णय नेपालस्थित गणतन्त्र कोरियाको दूतावासबाट प्राप्त कूटनीतिक नोट तथा उच्च अदालत पाटनले विभिन्न समयमा जारी गरेका अन्तरिम आदेशका आधारमा ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया पुनः अघि बढाइएको उल्लेख गरिएको छ।
पत्रमा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुनबमोजिम गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट आवश्यक कागजात प्रमाणीकरण गरी कार्यसम्पादन गर्न अनुरोध गरिएको छ। साथै उक्त पत्रको बोधार्थ सियोलस्थित नेपाली राजदूतावास र वैदेशिक रोजगार विभागलाई समेत पठाइएको छ।



























