काठमाडौं, साउन १९ – ईम्पाएर इन्टरनेसनल प्रा.लि.का सञ्चालक विजय कुमार कार्कीले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि राज्यले व्यवसायमैत्री, श्रमिकमैत्री र स्पष्ट नीति अविलम्ब लागू गर्नुपर्ने बताएका छन्।
उनले वैदेशिक रोजगार क्षेत्रमा बेला–बेला उठ्ने सिन्डिकेट, अस्वस्थ प्रतिस्पर्धा तथा फरक–फरक सेवा शुल्कको विषयमा व्यवसायीभित्रकै केही व्यक्तिको भूमिकाले पनि विवाद बढ्ने गरेको स्वीकार गर्दै अधिकांश व्यवसायी भने पारदर्शी र निष्पक्ष व्यवसायको पक्षमा रहेको बताए।
कार्कीका अनुसार एउटै देश, एउटै कम्पनी र एउटै प्रकृतिको रोजगारीमा समेत फरक–फरक सेवा शुल्क लिइनु उचित होइन। यसको समाधान राज्यले स्पष्ट सेवा शुल्क निर्धारण गरेर मात्र सम्भव हुने उनको भनाइ छ।
“नीति–नियम बनाउने काम राज्यको हो। हामी व्यवसायीले राज्यले बनाएको कानुनभित्र बसेर काम गर्ने हो। तर वर्षौंदेखि सेवा शुल्कको विषय अन्योलमै राखिएको छ,” उनले भने।
उनले विगतमा सेवा शुल्कको विषयमा व्यवसायीहरूले आन्दोलनसमेत गरेको स्मरण गराउँदै सरकारले समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन नगरेको गुनासो गरे।
व्यवसायलाई सधैं शंकाको दृष्टिले हेरेर दमन गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उल्लेख गर्दै उनले श्रमिकको हितसँगै व्यवसायीको अस्तित्व सुरक्षित हुने नीतिको आवश्यकता औँल्याए। “कामदारमैत्री मात्र होइन, व्यवसायमैत्री नीति पनि आवश्यक छ,” उनले जोड दिए।
धरौटी रकमको विषय उठाउँदै कार्कीले व्यवसायीहरूले करोडौँ रुपैयाँ धरौटी राखे पनि त्यसबाट कुनै प्रतिफल नपाउने अवस्था रहेको बताए। उक्त रकमबाट प्राप्त हुने ब्याज वा त्यसको उपयोगबारे राज्यले स्पष्ट व्यवस्था गर्नुपर्ने उनको माग छ।
सरकारी निकायका केही पदाधिकारीको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले नीतिभन्दा व्यवहारले बढी समस्या सिर्जना गरेको बताए। “राज्यलाई ठूलो परिमाणमा रेमिटेन्स भित्र्याउने व्यवसायलाई सम्मानको दृष्टिले होइन, शंकाको दृष्टिले हेरिएको अनुभूति हुन्छ,” उनले भने।
नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगार क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै कार्कीले सरकार, व्यवसायी र श्रमिक सबैको हित सुनिश्चित हुने गरी ऐन, नियम र कार्यप्रणालीमा समयानुकूल सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।



























