काठमाडौं । शैलुङ गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहदुर तामाङले वडा भित्र युवा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र महिलालाई लक्षित गर्दै सीप विकास तालिम सञ्चालन गरिनुका साथै आर्थिक रूपमा विपन्न तथा एकल महिलालाई भैँसी, बाख्रा र कुखुरा पालनका लागि सहयोग गरिने व्यवस्था गरिएको बताए
वडा अध्यक्ष तामाङले सडक, खानेपानी र विद्युत् पूर्वाधारका अधुरा योजनालाई सम्पन्न गर्नु नै मुख्य प्राथमिकता रहेको र धेरै योजना राखेर कार्यान्वयन गर्न नसक्ने अवस्था सिर्जना गर्नुको सट्टा आवश्यक र पूरा गर्न सकिने योजनालाई मात्रै प्राथमिकता दिएका छौँ,” उनले भने।
उपभोक्ता समितिमार्फत हुने विकास निर्माणमा विगतमा देखिएका अनियमिततालाई नियन्त्रण गर्न कडा अनुगमन प्रणाली लागू गरिएको उनको भनाइ छ। प्राविधिकबाट नियमित मूल्याङ्कन हुने व्यवस्था गरिएकाले कमिसन र आर्थिक अनियमितताको सम्भावना न्यून भएको उनको दाबी छ।
शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले सामुदायिक विद्यालयमा शिक्षकको हाजिरी व्यवस्थापनलाई प्रविधिमैत्री बनाइएको जानकारी दिए। यसका साथै आवश्यक विद्यालयमा छात्रावास व्यवस्थापनका लागि बजेट छुट्याइएको र त्यसले विद्यार्थीको शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पारेको उनले बताए।
महिला हिंसा, बालविवाह तथा अन्य सामाजिक विकृति न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुका साथै कानुनी प्रक्रियालाई प्रभावकारी रूपमा लागू गरिएको तामाङको भनाइ छ। उमेर नपुगी विवाह तथा जन्मदर्तासम्बन्धी विषयमा कडाइ गरिएकाले सकारात्मक परिणाम देखिन थालेको उनले बताए।
वडाको स्रोतले मात्रै सम्पन्न गर्न नसकिने ठूला विकास आयोजनाका लागि गाउँपालिका, प्रदेश र संघीय सरकारसँग आवश्यक समन्वय गरेर बजेट व्यवस्थापन गरिने उनले बताए। स्थानीयको आवश्यकता र प्राथमिकताका आधारमा माथिल्लो निकायमा योजना प्रस्ताव गरिएको पनि उनले जानकारी दिए।
वडा अध्यक्ष तामाङले सीमित स्रोतसाधनका बाबजुद पारदर्शी, उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर विकासका काम अघि बढाइरहेको बताए।उनले भने चुनाव मुखी र कार्यकर्ता मुखी बजेट नभइ वडाको विकास र समृद्धिलाई ध्यानमा राखी कार्यक्रमहरु निर्माण गरि कार्यन्वयनमा लगिएको अध्यक्ष तामाङ बताए



























