काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष भुवन सिंह गुरुङले वैदेशिक रोजगार व्यवसायमा संविधानविपरीतको सिन्डिकेटको कुनै सम्भावना नरहेको बताएका छन्।
गुरुङले आफू कार्यकालदेखि नै सिन्डिकेटको विरोधमा रहेको उल्लेख गर्दै व्यवसायलाई सीमित समूहको नियन्त्रणमा लैजान नहुने बताए। “
म हिजो पनि सिन्डिकेटको विरोधमा थिएँ, आज पनि सिन्डिकेट कुनै हालतमा सहन सकिँदैन,” उनले भने।
आफ्नो कार्यकालमा परराष्ट्र मन्त्रालयबाट निर्णय भई कार्यान्वयनमा आइसकेका विषयमा अहिले पटक–पटक विज्ञप्ति निकालेर मात्रै व्यवसायीका समस्या समाधान नहुने उनको भनाइ छ।
हालको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी समस्या समाधानमा केन्द्रित हुनुभन्दा श्रममन्त्रीको प्रचार गर्न र सामाजिक सञ्जाल रङ्ग्याउन बढी केन्द्रित भएको गुरुङले आरोप लगाए।
संघले गर्न नसकेको काम नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले उठाइरहेको दाबी गर्दै गुरुङले सिन्डिकेटविरुद्धको अभियानमा आफ्नो समर्थन रहेको स्पष्ट पारे।
“२० वर्ष लगाएर बनाएको व्यवसायको प्रतिष्ठामा आँच आउने काम कसैले गर्नु हुँदैन। व्यवसायको हित, स्वस्थ प्रतिस्पर्धा र मर्यादा जोगाउन सबै जिम्मेवार हुनुपर्छ,” उनले भने।



























