काठमाडौं । भिजिट भिसाको आवरणमा ३२ जना नेपाली महिलालाई ओमान लैजान खोजिएको घटना सार्वजनिक भएपछि गम्भीर प्रश्न उठेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त सूचनाका आधारमा विमानस्थलबाट प्रस्थान गर्न लागेका महिलालाई रोकेर उनीहरूको राहदानी अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको अध्यागमनसम्बन्धी पत्रबाट खुलेको छ।
अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सीआईबीलाई पठाएको पत्रअनुसार २०८३ भदौ ५ गते फ्लाई दुबईको उडान नम्बर FZ १५९६ मार्फत भिजिट भिसामा ओमान जान लागेका ३२ जना महिलाको प्रस्थान अनुमति रद्द गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त सूचनाका आधारमा उनीहरूलाई रोकिएको पत्रमा उल्लेख छ।
पत्रमा अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चलानी नम्बर १५६, मिति २०८३/०५/०५ को पत्रमार्फत ती राहदानी विभागमा प्राप्त भएको उल्लेख गरिएको छ। उक्त प्रकरणमा आवश्यक अनुसन्धानका लागि राहदानी सीआईबीमा पठाइएको जनाइएको छ।
यो घटनाले भिजिट भिसाको प्रयोग गरी नेपाली नागरिकलाई वैदेशिक रोजगारीका लागि विदेश पठाउने प्रयास भइरहेको छ कि छैन भन्ने विषयमा थप प्रश्न उठाएको छ। विशेषगरी एकैपटक ३२ जना महिला एउटै उडानमार्फत ओमान जान लाग्दा उनीहरूको यात्रा उद्देश्य, भिसा प्रक्रिया, टिकट तथा अन्य कागजात कसले तयार गर्यो भन्ने विषय अनुसन्धानको महत्वपूर्ण पाटो बन्ने देखिन्छ।



























