काठमाडौं । भोटेकोशी बाढी तथा विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको छ । नेपाली सेनाका अनुसार आइतबार साँझ ६ बजेसम्म प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत ४ हजार २२० जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये ३ हजार ९३७ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेको सेनाले जनाएको छ ।
माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ । टनेलभित्र भने खोजी कार्य अझै जारी रहेको सेनाले जनाएको छ ।
त्यस्तै, त्रिशूली–३ए आयोजनाको टनेल तथा पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ । त्रिशूली–३बी आयोजनाको पावर हाउस क्षेत्रमा तीनवटा एक्स्काभेटर र लोडर प्रयोग गरी उत्खनन गरिए पनि हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ ।
रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत प्रभावित क्षेत्रमा सेनाले बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी कार्य गरिरहेको छ । साँघुरा टनेलको रेकी, प्रभावित क्षेत्रको खोज तथा मूल्याङ्कनसँगै सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम क्षेत्रमा ड्रोनमार्फत राहत सामग्री पुर्याउने काम पनि भइरहेको छ ।
सेनाका ड्रोनमार्फत नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा हालसम्म ३१ हजार ९१ किलो राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन् । उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन् ।
यसैबीच, त्रिशूली र धुन्चेमा सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आश्विन ४ गते सात जनाले स्वास्थ्य सेवा लिएका छन् । ती केन्द्रबाट हालसम्म ४ हजार ३ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको सेनाले जनाएको छ ।
बेत्रावती नदीमा पुल जडानका लागि बारास्थित श्री नं. २८ वाहिनी अड्डाबाट एक्रो ब्रिजका पार्टपुर्जा तथा सामग्री ढुवानी गरी आश्विन ४ गते नुवाकोटको त्रिशूली पुर्याइएको छ । सामग्री ढुवानीमा ६ वटा डम्प ट्रक, एक क्रेन ट्रक, एक एक्स्काभेटर र दुईवटा लो–बेड प्रयोग गरिएको थियो । बेत्रावतीमा बेलिब्रिज निर्माणका लागि डिजाइन सम्पन्न भई फाउन्डेसनको कामसमेत सुरु गरिएको सेनाले जनाएको छ ।



























