काठमाडौं । वैदेशिक रोजगारीका लागि स्लोभेनिया र माल्दिभ्स पठाइदिने भन्दै २५ जना युवायुवतीबाट ८५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अनुमति नलिई म्यानपावर कम्पनी सञ्चालन गरी अर्काको नागरिकता प्रयोग गरेर रकम असुली गरेको आरोपमा धादिङका ३१ वर्षीय ईश्वर खतिवडा पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार खतिवडाले चाबहिलमा ‘ब्लु डाइमन्ड एचआर सर्भिस प्रालि’ नामको संस्था सञ्चालन गरेका थिए । वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि आवश्यक अनुमति नलिई सञ्चालन गरिएको उक्त संस्थाको आफू प्रबन्ध निर्देशक भएको बताउँदै उनले रोजगारीका लागि युवायुवतीसँग रकम उठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार खतिवडाले आफ्नो वास्तविक पहिचान लुकाउन हरि तिमिल्सिनाको नागरिकता प्रयोग गरेका थिए । उनले आफूलाई ‘हरि तिमिल्सिना’का रूपमा चिनाउँदै वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पीडितसँग रकम लिने गरेका थिए ।
स्लोभेनिया र माल्दिभ्समा आकर्षक तलबसहित रोजगारी लगाइदिने प्रलोभन देखाएर उनले २५ जनाबाट ८५ लाख रुपैयाँ उठाएको प्रहरीको दाबी छ । रकम लिएपछि पीडितलाई विश्वास दिलाउन नक्कली हवाई टिकट, भिसा र वर्क पर्मिटसमेत देखाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
रकम असुलीका लागि खतिवडाले ६ जना कर्मचारीसमेत नियुक्त गरेको प्रहरीले जनाएको छ । पीडितबाट उठाइएको रकम कर्मचारीको बैंक खातामा जम्मा गर्न लगाउने र पछि आफूले नगद बुझ्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
रोजगारीका लागि रकम बुझाएपछि लामो समयसम्म सम्पर्कमा नआएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए । उजुरीका आधारमा अनुसन्धान अघि बढाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खतिवडालाई पक्राउ गरेको हो ।
पक्राउ परेका खतिवडालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।




























