काठमाडौँ : गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षमा नेपाल प्रहरीका लागि तुलनात्मक रूपमा उल्लेख्य बजेट वृद्धि गरिएको बताएका छन्।
शुक्रबार काठमाडौंमा सुरु भएको अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले मुलुकको स्रोतसाधनको अवस्थालाई ध्यानमा राख्दै विगतको तुलनामा प्रहरीतर्फ राम्रो बजेट विनियोजन गरिएको दाबी गरे।
‘पहिला ८–९ महिनासम्मको तलब, पोसाक र रासनको बजेट मात्र विनियोजन हुन्थ्यो,’ उनले भने, ‘अब भने ती सबैका लागि वर्षभरको एकमुष्ट बजेट छुट्याइएको छ। यसले प्रणालीलाई सहज बनाउनेछ।’
गृहमन्त्री लेखकले अनुसन्धानमा प्रविधिको अधिकतम प्रयोग, शान्ति सुरक्षा कायम गर्न तथा ‘ल एन्ड अर्डर’ मेन्टेन गर्न आवश्यक सामग्रीको व्यवस्था गर्नका लागि समेत आगामी आर्थिक वर्षमा बजेट अभाव नहुने उल्लेख गरे।



























