काठमाडौँ : वैदेशिक रोजगारीका लागि द्विपक्षीय श्रम सम्झौता भइसकेको संयुक्त अरब इमिरेट्स (युएई) मा नेपाली घरेलु कामदार पठाउने सम्भावनाबारे अध्ययन गर्न संसदको उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले तीन वटा संसदीय उपसमिति गठन गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सम्भाव्यता अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिका सभापति अब्दुल खानले उपसमितिका संयोजकहरू पहिलो बैठकबाट चयन गरिने जानकारी दिए।
बैठकमा युएईसँग भएको द्विपक्षीय श्रम सम्झौताअनुसार घरेलु कामदार पठाउने प्रक्रिया, तिनको सुरक्षा, अधिकार सुनिश्चितता, नीतिगत तयारीलगायतका विषयमा छलफल गरिएको थियो। समितिले सरोकारवालासँग थप परामर्श गरेर प्रतिवेदन तयार पार्ने तयारी गरेको छ।



























