काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले इजरायलमा सहायक कामदारका रूपमा जाने १५ जना नेपाली उम्मेदवारहरूलाई करार सम्झौताका लागि उपस्थित हुन सूचना जारी गरेको छ।
नेपाल र इजरायल सरकारबीच भएको द्विपक्षीय समझदारीअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न जाने यी उम्मेदवारहरूको रोजगारदाताबाट प्राप्त करार सम्झौतामा हस्ताक्षरका लागि वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गरेको हो। सम्बन्धित रोजगारदाताबाट करार सम्झौता पत्र प्राप्त भइसकेको छ। उम्मेदवारहरूलाई इजरायल पठाउन र भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा पठाउने प्रयोजनका लागि आवश्यक कागजातसहित २०८२ साउन १४ गते बुधबार बिहान १० : ३० बजे वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा उपस्थित हुन भनिएको छ।
उपस्थित हुँदा उम्मेदवारहरूले म्याद बहाल रहेको प्रहरी चारित्रिक प्रमाणपत्र, सक्कल राहदानी, हालसालै खिचेको पासपोर्ट साइजको रंगीन फोटो,पुरानो मेडिकल रिपोर्टको प्रतिलिपि लगायत ल्याउन भनिएको छ । सूचनामा १० जना पुरुष र ५ जना महिला गरी १५ जना उम्मेदवारहरूको नाम, राहदानी नम्बर र ईमेल ठेगाना उल्लेख गरिएको छ। निर्देशक गिरीराज ज्ञवालीको हस्ताक्षरमा सूचना प्रकाशित गरिएको हो।



























