काठमाडौँ । धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित कलंकी होटल एण्ड गेष्ट हाउस एसोसिएसन, कलंकी काठमाडौँको आयोजनामा होटल व्यवसायीहरूको दुईदिने अवलोकन तथा दर्शन भ्रमण उत्साहका साथ सम्पन्न भएको छ।
एसोसिएसनको नेतृत्वमा होटल व्यवसायीहरू माघ १६ गते शुक्रबार काठमाडौँबाट प्रस्थान गरी काभ्रेपलाञ्चोक, सिन्धुलीको कुसेश्वर क्षेत्र तथा रामेछाप जिल्लास्थित प्रसिद्ध खाँडादेवी मन्दिरको दर्शन तथा अवलोकन भ्रमणमा सहभागी भएका थिए।
धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटन प्रवर्द्धनमा यस्ता भ्रमणले सकारात्मक योगदान पुर्याउने आयोजकको विश्वास रहेको छ।
एसोसिएसनका अध्यक्ष रमेश कुमार बरालले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न होटल व्यवसायी स्वयं गन्तव्यसम्म पुगेर अध्ययन र अनुभव आदान–प्रदान गर्नु आवश्यक रहेको बताए। उनले भ्रमण सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुका साथै यस्ता कार्यक्रमले पर्यटन क्षेत्रको विकाससँगै व्यवसायीहरूबीच आपसी सहकार्य र सम्बन्ध विस्तारमा समेत टेवा पुग्ने एसोसिएसनले जनाएको छ।




























