काठमाडौं — वैदेशिक रोजगार विभाग ले इजाजतपत्र प्राप्त संस्थाहरूलाई वैदेशिक रोजगारीका लागि कामदार छनोट प्रक्रिया कानुनअनुसार कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। विभागले एक सूचना जारी गर्दै विज्ञापन प्रकाशनदेखि भिसा प्रक्रियासम्मका चरणहरू व्यवस्थित रूपमा पूरा गर्न आग्रह गरेको हो।
सूचनाअनुसार वैदेशिक रोजगार ऐन २०६४ को दफा १६ बमोजिम पूर्वस्वीकृति प्राप्त गरेपछि मात्र कामदार छनोट प्रक्रिया अघि बढाउनुपर्नेछ। साथै, कामदार छनोट गर्नुअघि नेपाली भाषामा राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा ७ दिनको म्याद दिई विज्ञापन प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको छ।
विभागले दफा १७ अनुसार प्रकाशित विज्ञापनमा तोकिएको योग्यता, अनुभवलगायतका आधारमा मात्रै कामदार छनोट गर्नुपर्ने स्पष्ट पारेको छ। त्यसपछि दफा १८ बमोजिम छनोट भएका कामदारको भिसा प्रक्रिया अघि बढाउनुपर्ने र भिसा प्राप्त भइसकेपछि अन्तिम श्रम स्वीकृतिका लागि विभागसमक्ष पेश गर्नुपर्ने बताइएको छ।
विभागका अनुसार इजाजतपत्र प्राप्त संस्थाहरूले सम्पूर्ण प्रक्रिया पूरा गरी मात्रै अन्तिम श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्नेछ। तोकिएको प्रक्रिया उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि सूचनामा दिइएको छ।
विभागले सबै इजाजतपत्र प्राप्त संस्थाहरूलाई नियमअनुसार पारदर्शी र व्यवस्थित रूपमा कामदार छनोट तथा पठाउने प्रक्रिया सञ्चालन गर्न आग्रह गरेको छ।



























