काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले वैदेशिक रोजगार ऐन, २०६४ मा भएको संशोधनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीलाई धन्यवाद दिएको छ।
एसोसिएसनका अध्यक्ष दीपक थापाले एक विज्ञप्ति जारी गर्दै प्रत्येक आर्थिक वर्षमा १०० जना कामदार पठाउने बाध्यतात्मक प्रावधान खारेज गर्ने गरी मन्त्रिपरिषद्बाट विधेयकमार्फत संशोधन गरिएकोमा आभार व्यक्त गरेका हुन्। यो संशोधनले वैदेशिक रोजगार व्यवसायलाई थप सहज र मर्यादित बनाउन सहयोग पुग्ने एसोसिएसनको भनाइ छ।
विज्ञप्तिमा मन्त्री भण्डारी, सचिवज्यू, महाशाखा प्रमुखज्यू, कानुन शाखा प्रमुखज्यू, महानिर्देशकज्यू, मन्त्रालय–विभागका सम्पूर्ण कर्मचारीज्यू, पत्रकारज्यू, नागरिक समाज र व्यवसायीहरूलाई समेत हार्दिक आभार प्रकट गरिएको छ। एसोसिएसनले आगामी दिनमा पनि वैदेशिक रोजगार क्षेत्रमा सुधारका लागि आवश्यक कदम चाल्न सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।




























