काठमाडौं – वैदेशिक रोजगार क्षेत्रमा पछिल्ला दिनमा विभागीय कारबाही, अन्तर्राष्ट्रिय हवाई टिकट शुल्कमा भएको वृद्धि तथा सिन्डिकेटको हल्लाका कारण मेनपावर व्यवसाय थप चुनौतीपूर्ण बन्दै गएको फाइभ स्टार एच.आर.का सिइओ के.पि. गुप्ता शाहले बताएका छन्।
शाहका अनुसार विभागको कडा कारबाहीका कारण इमान्दारीपूर्वक व्यवसाय सञ्चालन गरिरहेका मेनपावर कम्पनीहरू समेत दबाबमा परेका छन्। व्यवसायलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्य सकारात्मक भए पनि नीतिगत स्पष्टता र व्यावहारिक कार्यान्वयन आवश्यक रहेको उनको भनाइ छ।
उनले अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य निरन्तर बढ्दै जाँदा यसको प्रत्यक्ष असर वैदेशिक रोजगारीमा जाने श्रमिक र व्यवसायी दुवैमाथि परेको बताए। टिकट शुल्क महँगिँदा श्रमिकको आर्थिक भार बढ्नुका साथै व्यवसाय सञ्चालनको लागतसमेत उल्लेख्य रूपमा वृद्धि भएको उनले बताए।
शाहले वैदेशिक रोजगार क्षेत्रमा सिन्डिकेट पुनः सक्रिय हुने हल्लाले समेत व्यवसायीहरूमा अन्योल र असुरक्षा बढाएको उल्लेख गर्दै यस्तो वातावरणले स्वस्थ प्रतिस्पर्धा, पारदर्शिता र लगानीमैत्री व्यवसायिक वातावरणलाई कमजोर पार्न सक्ने बताए।
उनले सरकारले वैदेशिक रोजगार क्षेत्रका वास्तविक समस्या पहिचान गरी व्यवसायी, श्रमिक तथा सरोकारवालासँग समन्वय गरेर व्यावहारिक समाधान खोज्नुपर्नेमा जोड दिए। साथै, व्यवसायमैत्री नीति, पारदर्शी नियमन, स्थिर कानुनी व्यवस्था तथा श्रमिक हितलाई सन्तुलित रूपमा अघि बढाउन सरकारसँग आग्रह गरे।



























