काठमाडौं, – नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिक बहादुर खत्रीले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्याको समाधानका लागि नीतिगत सुधार अपरिहार्य रहेको बताएका छन्।
उनले सरकारको वर्तमान कार्यशैलीले वैदेशिक रोजगार क्षेत्रका चुनौतीहरू समाधान गर्न नसकेको उल्लेख गर्दै व्यवसाय सञ्चालनलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार तत्काल गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष खत्रीले वैदेशिक रोजगार व्यवसायीहरूलाई अनावश्यक रूपमा दोषारोपण गर्ने प्रवृत्ति अन्त्य गरी व्यवसायीको हकहित संरक्षण गर्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे। उनले व्यवसायलाई सम्मानित र दिगो बनाउने उद्देश्यका साथ संघ निरन्तर सरकारसँग संवाद र पहलमा रहेको बताए।
उनका अनुसार १३ दिनअघि देशभरका व्यवसायीहरूको भेला गरी उनीहरूको म्यान्डेट संकलन गरिएको थियो। सोही म्यान्डेटका आधारमा सरकारले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान तथा आवश्यक नीतिगत सुधार गर्नुपर्ने विषयमा संघले पहल गरिरहेको उनले जानकारी दिए।
अध्यक्ष खत्रीले सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीलाई एकताबद्ध भएर नीतिगत सुधारको अभियानमा साथ दिन आग्रह गर्दै व्यवसायको सम्मान, श्रमिकको हित र क्षेत्रको दिगो विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताए।



























