काठमाडौं जिल्ला अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका कांग्रेस नेता अभिषेक गिरी धरौटी रकम बुझाउन नसकेपछि डिल्लीबजार कारागार चलान भएका छन्।
निर्माण व्यवसायी सुवास श्रेष्ठलाई ठेक्का मिलाइदिने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा गिरीविरुद्ध मुद्दा दर्ता भएको थियो। उक्त उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले असार २३ गते मोरङबाट उनलाई पक्राउ गरेको थियो।
अनुसन्धानपछि सीआईबीले गिरीमाथि २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको आरोपसहित पीडितलाई क्षतिपूर्ति दिलाउने माग गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। त्यसअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साउन १४ गते अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।
अदालतले धरौटीमा छाड्ने आदेश दिए पनि तोकिएको रकम जम्मा गर्न नसकेपछि गिरीलाई कारागार पठाइएको हो। यस प्रकरणसँगै उनीविरुद्ध मोरङमा समेत छुट्टै अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



























