काठमाडौं । पर्यटकीय गतिविधि बढ्ने मुख्य सिजन सुरु भएसँगै खाना पकाउने ग्यासको अभावले होटल तथा रेस्टुरेन्ट सञ्चालन प्रभावित हुने चिन्ता बढेको छ। जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले ग्यास अभावले पर्यटन क्षेत्रमै प्रत्यक्ष असर पर्ने सम्भावना रहेको बताएका छन्।
मध्यपूर्वमा जारी तनाव तथा इरान–इजरायल द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा ग्यास आपूर्तिमा असर परेको र त्यसको प्रभाव नेपालमा समेत देखिन थालेको हो। यही परिस्थितिका कारण नेपाल आयल निगमले हाल बजारमा आधा सिलिन्डर ग्यास वितरण सुरु गरेको छ।
तर व्यवसायीहरूले आधा सिलिन्डर ग्यास होटल व्यवसायका लागि पर्याप्त नहुने भन्दै होटल तथा पर्यटन क्षेत्रका लागि छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
अध्यक्ष बरालका अनुसार विदेशी पर्यटकको आगमन बढ्ने वसन्त सिजन र नेपाली नयाँ वर्षको समय होटल व्यवसायका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। “यही समयमा ग्यास अभाव देखिनुले पर्यटन क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर पर्नेछ, जुन नेपालका लागि दुःखद विषय हो,” उनले भने।
उनका अनुसार युरोप र मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वका कारण हाल विदेशी पर्यटकको आगमनमा कमी देखिए पनि भारतीय पर्यटकहरू गर्मी छल्न नेपाल आउने अपेक्षा व्यवसायीहरूले गरेका छन्। साथै नेपाली नयाँ वर्षका अवसरमा आन्तरिक पर्यटनसमेत बढ्ने समय भएकाले ग्यास अभाव नहोस् भन्ने व्यवसायीहरूको चाहना छ।
बरालले पर्यटन तथा होटल क्षेत्रप्रति सरकारले विशेष ध्यान दिनुपर्ने बताए। “अभाव हुन नदिन सरकार चनाखो हुनु जरुरी छ। व्यवसायीलाई सहज र दिगो रूपमा सेवा सञ्चालन गर्न आवश्यक सहजीकरण गरिनुपर्छ,” उनले भने।
उनले हाल बजारमा वितरण भइरहेको आधा सिलिन्डर ग्यासले होटल व्यवसाय सञ्चालन गर्न पर्याप्त नहुने स्पष्ट पारे। “नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास वितरण गर्दै व्यवसायी र सामान्य उपभोक्तालाई एउटै बास्केटमा राख्नु दुर्भाग्यपूर्ण हो,” उनले भने।
व्यवसायीहरूले पर्याप्त ग्यास आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। ग्यास आपूर्ति कमी हुँदा होटल सञ्चालनमा प्रत्यक्ष असर पर्ने र त्यसले आन्तरिक तथा विदेशी पर्यटक दुवै प्रभावित हुने उनको भनाइ छ।



























