काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) ले वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
संघका महासचिव हिरा बहादुर डाँगी (हरी) द्वारा जारी गरिएको पत्रअनुसार पत्रकार सम्मेलन २०८३ साउन २२ गते शुक्रबार दिउँसो २ बजे काठमाडौंको पिङ्गलास्थानस्थित बेस्ट वेस्टर्न होटलमा आयोजना हुनेछ।
संघले वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित पछिल्ला घटनाक्रम, इजाजतपत्रवाल संस्थासँग सम्बन्धित विषय, वैदेशिक रोजगार क्षेत्रमा देखिएका सिन्डिकेट तथा एकाधिकारमुखी गतिविधि, नेपाली श्रमिक र व्यवसायीका हितसँग सम्बन्धित नीतिगत सुधारका विषय तथा संघले आगामी दिनमा सञ्चालन गर्ने चरणबद्ध कार्यक्रमबारे जानकारी गराउने जनाएको छ।
जारी पत्रमा पत्रकार तथा फोटो पत्रकारलाई सम्मेलनमा उपस्थित भई समाचार सम्प्रेषण गरिदिन अनुरोध गरिएको छ। साथै, वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित तथ्यपरक सूचना आम नागरिक, सरोकारवाला निकाय तथा सम्बन्धित पक्षसमक्ष पुर्याउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने विश्वास पनि संघले व्यक्त गरेको छ।
संघका अनुसार पत्रकार सम्मेलनमार्फत वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या, समाधानका उपाय तथा आगामी रणनीतिबारे समेत विस्तृत धारणा सार्वजनिक गरिनेछ।



























