काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगार बोर्ड र मलेसियाको फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर (एफडब्लुडब्लुएमसी) बीच वैदेशिक रोजगारका विषयमा भएको भनिएको सम्झौतालाई हाल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।
मंगलबार दिउँसो सिंहदरबारमा मन्त्री, सचिव र अन्य सरकारी कर्मचारीहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई उक्त सम्झौता कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले मलेसियाको निजी क्षेत्रको संस्था फरेन वर्कर वेलफेयर म्यानेजमेन्ट सेन्टर (एफडब्लुडब्लुएमसी)सँग कामदार पठाउनेसम्बन्धी सम्झौता गरेपछि वैदेशिक रोजगार व्यवसायीहरुले समेत विरोध गरेपछि प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन् । सम्झौतामा प्रति कामदार ४५ डलर जम्मा गर्नुपर्ने प्रावधान छ ।
नेपालबाट वैदेशिक रोजगारमा मलेसिया जाने कामदारको कल्याणकारी कार्यका लागि मलेसियाको निजी कम्पनी एफडब्लुडब्लुएमसीले प्रति कामदार ४५ अमेरिकी डलर लिने सम्झौता कार्यान्वयनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियास्थित नेपाली दूतावासलाई पत्राचार गर्न आग्रह गरी परराष्ट्र मन्त्रालयलाई पत्र पनि पठाएको थियो ।
प्रधानमन्त्री प्रचण्डले निर्देशन दिँदै भने, ‘हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला। आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्क लगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्नुहोला । हालै वैदेशिक रोजगार बोर्ड र मलेसियाको फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर (एफडब्लुडब्लुएमसी)बीच वैदेशिक रोजगारका विषयमा भएको भनिएको सम्झौतालाई हाल कार्यान्वयन नगर्ने व्यवस्था मिलाई जानकारी गराउनुहोला ।’
यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त सम्झौता खारेज नगरे कामदार पठाउन रोक लगाउने घोषणा गरेको थियो ।



























